घरको सबैजना झगडा गर्ने, मेलमिलाप गर्ने, अनी जोक भन्ने केन्द्र भएको छ भान्छाकोठा।
आज नि खाना सकेर गफगाफ हुँदै थियो, लकडाउनको बेला वरीपरिको घर डुल्ने बिरालोहरुको कुरा सुरु भयो।
“आमा, बिरालोले त खान पाउन गाह्रो भयो त। तेइ स्कुलको क्यान्टीनको बाँकी भाको खाना खान्थ्यो, स्कुल बन्द भएर होला, राती राती भोकाएर साह्रै कराँउछ।” मैले भने।
“अँ। अलिअली खाना दिनुपर्छ।” हजुरआमाले मन्जुरी दिनुभयो।
“अस्ती सम्म चाइ बारीमा रोपेको तरकारी ध्वस्त हुन्छ भनेर बिरालोलाई नपल्क्याउ भन्ने तर माया त हजुरलाई नि लाग्दो रइछ त!” बहिनिले जिस्क्याइन।
हाँसो लुकाउन हजुरआमा अर्कोपट्टी फर्किनुभयो।
यही बखत म सोच्दै थिएँ र मैले सोधेँ हजुरआमालाई, “आमा, अनी गाउँघरतिर चाइँ बिरालोहरु के गर्छन्?”
“के गर्नु नि। धेरैजना घरमै पाल्थे। राती सुतिराको ठाउँँमा आएर खुट्टातिर सुत्थ्यो। ब्वाङ्ग हान्यो लात्तिले भुइँतिर, तर फेरी आएर तेइ सुत्थ्यो।”
अचम्म मानेर सुनिरह्यौ आमाको कुरा हामीले। जनावरहरुको अधिकारको बारे बोल्ने साथीहरुले आमाको ब्यख्यालाई कसरी लिन्थे होला, कुन्नी?
ramro
LikeLike